Working: 10.00am - 5.00pm

Ippan Election: ‘Loan Promise’ or Real Agenda for the Energy Sector?

नेपालको जलविद्युत् क्षेत्र अहिले अवसर र चुनौतीको जटिल मोडमा उभिएको छ। एकातिर सरकारले आगामी दशकमा हजारौँ मेगावाट विद्युत् उत्पादन तथा निर्यातको महत्त्वाकांक्षी लक्ष्य अघि सारेको छ भने अर्कोतिर निजी क्षेत्रका ऊर्जा उत्पादकहरू नीतिगत अन्योल, प्रसारण पूर्वाधार अभाव, वित्तीय अस्थिरता र प्रशासनिक झन्झटले थलिएका छन्।

यही पृष्ठभूमिमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदै छ। सामान्य संस्थागत नेतृत्व परिवर्तनका रूपमा हेर्दा यो एउटा नियमित प्रक्रियाजस्तो देखिए पनि वास्तवमा यो निर्वाचन नेपालको निजी जलविद्युत् क्षेत्र कुन दिशामा जाने भन्ने बहससँग जोडिएको छ। प्रश्न केवल को अध्यक्ष बन्छ भन्ने होइन, प्रश्न यो हो, इप्पान वास्तविक एजेन्डामा केन्द्रित हुन्छ कि चुनावी ‘उधारो वाचा’को राजनीतिमा अल्झिन्छ?

वास्तविक मुद्दाः ऊर्जा क्षेत्रका प्राथमिकता के हुन्?
नेपालमा जलविद्युत् विकासको यात्रा निजी क्षेत्रको लगानीबाट सम्भव भएको हो। तर, अहिले यही क्षेत्र अनेक संरचनात्मक समस्याले घेरिएको छ। सबैभन्दा ठूलो चुनौती ‘रन(अफ द  रिभर’ आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए)सम्बन्धी अनिश्चितता हो। दशकौंदेखि निजी क्षेत्रले माग गरिरहेको विषय अझै पूर्ण रूपमा समाधान हुन सकेको छैन। पीपीए कोटा, ऊर्जा मिश्रणको नीति र विद्युत् खरिदमा देखिएको ढिलासुस्तीले धेरै परियोजनाको वित्तीय सम्भावनामा प्रश्न उठाएको छ।

लगानी र वित्तीय व्यवस्थापन अर्को महत्त्वपूर्ण चुनौती हो। अधिकांश जलविद्युत् प्रवर्द्धक केवल ऊर्जा क्षेत्रमा सीमित छैनन्। उनीहरूको लगानी पर्यटन, कृषि, पूर्वाधार तथा अन्य क्षेत्रमा पनि फैलिएको छ। बैंकिङ प्रणालीमा देखिने तरलता संकट, ब्याजदरको अस्थिरता र ऋण व्यवस्थापनको समस्याले सम्पूर्ण व्यवसायिक चक्र प्रभावित हुने गरेको छ।

प्रसारण लाइन अभाव अझै पनि निजी क्षेत्रको प्रमुख चिन्ता हो। आयोजना समयमै सम्पन्न भए पनि प्रसारण संरचना नबन्दा उत्पादन भएको विद्युत् खेर जाने अवस्था दोहोरिएको छ। त्यस्तै वन, वातावरण, भूमि व्यवस्थापन तथा विभिन्न सरकारी निकायबाट अनुमति लिनुपर्ने झन्झटले आयोजना विकासको लागत र समय दुवै बढाएको छ।

यी विषयहरू नै इप्पानका वास्तविक एजेन्डा हुन्। जलविद्युत् क्षेत्रमा काम गरिरहेका अधिकांश लगानीकर्तालाई नेतृत्वबाट चाहिएको पनि यही हो, सरकारसँग प्रभावकारी संवाद, नीतिगत सुधारका लागि दबाब र कार्यान्वयन सुनिश्चित गराउने क्षमता।

चुनावी वाचा र यथार्थबीचको दूरी
निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारका विभिन्न प्रतिबद्धता सार्वजनिक भइरहेका छन्। तर, ऊर्जा क्षेत्रभित्र एउटा महत्वपूर्ण प्रश्न उठिरहेको छ, यी वाचा कति यथार्थपरक छन्?

पीपीए तुरुन्त खुलाउँछौँ, ब्याजदर घटाउँछौँ, सबै समस्या एकैपटक समाधान गर्छौं जस्ता नारा सुन्न आकर्षक लाग्न सक्छन्। तर वास्तविकता के भने यस्ता धेरै विषय इप्पानको प्रत्यक्ष अधिकार क्षेत्रभित्र पर्दैनन्। ब्याजदर राष्ट्र बैंकको नीतिसँग जोडिएको विषय हो भने पीपीए सम्बन्धी निर्णय ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र सरकारको समग्र ऊर्जा नीतिसँग सम्बन्धित छ।

यही कारण धेरै लगानीकर्ताहरू अहिले वाचाभन्दा कार्ययोजना खोजिरहेका छन्। उनीहरूलाई बैठक, सहमति र विज्ञप्तिभन्दा बढी परिणाम चाहिएको छ। विगतमा पनि विभिन्न कार्यदल बने, सम्झौताहरू भए, प्रतिबद्धताहरू सार्वजनिक भए, तर धेरै समस्याहरू वर्षौँसम्म जस्ताको तस्तै दोहोरिइरहे।

ऊर्जा क्षेत्रभित्र अर्को बहस नेतृत्वको चरित्रसँग जोडिएको छ। कतिपय अवस्थामा संस्थागत एजेन्डाभन्दा व्यक्तिगत आयोजना वा सीमित समूहको स्वार्थ हावी भएको आरोप लाग्ने गरेको छ। यदि इप्पान वास्तवमै निजी ऊर्जा क्षेत्रको साझा छाता संस्था बन्ने हो भने नेतृत्वले व्यक्तिगत हितभन्दा माथि उठेर सम्पूर्ण क्षेत्रको प्रतिनिधित्व गर्न सक्नुपर्छ।

पीपीए तुरुन्त खुलाउँछौँ, ब्याजदर घटाउँछौँ, सबै समस्या एकैपटक समाधान गर्छौं जस्ता नारा सुन्न आकर्षक लाग्न सक्छन्। तर वास्तविकता के भने यस्ता धेरै विषय इप्पानको प्रत्यक्ष अधिकार क्षेत्रभित्र पर्दैनन्।

नेपालको ऊर्जा क्षेत्र अहिले एउटा निर्णायक मोडमा छ। भारत र बंगलादेशतर्फ विद्युत् निर्यातका अवसर विस्तार भइरहेका छन्। उत्पादन क्षमता बढिरहेको छ। विदेशी लगानीको चासो पनि कायम छ। तर अवसरलाई उपलब्धिमा रूपान्तरण गर्न सक्षम नेतृत्व आवश्यक छ।

यसपटकको इप्पान निर्वाचनमा ऊर्जा उत्पादकहरूले भाषणभन्दा बढी उम्मेदवारको विगत, नीतिगत विषयमा पकड, सरकारसँग परिणाममुखी संवाद गर्ने क्षमता र संस्थागत प्रतिबद्धतालाई मूल्यांकन गर्नुपर्ने देखिन्छ। किनभने, जलविद्युत् क्षेत्रलाई अहिले लोकप्रिय नाराभन्दा समाधान, पहुँचभन्दा परिणाम र उधारो वाचाभन्दा कार्यान्वयन गर्न सक्ने नेतृत्वको आवश्यकता छ। यही आधारमा नेतृत्व चयन हुन सके मात्र नेपालको जलविद्युत् क्षेत्रले देखेको समृद्धिको सपना थप यथार्थपरक बन्न सक्छ।

Sources: capitalnepal

The budget should lay the foundation for a green economy along with economic revival.

नेपाल आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिकको तयारीमा प्रवेश गरेको छ। मुलुकको आर्थिक दिशालाई पुनर्परिभाषित गर्ने नयाँ सरकारको बजेट महत्वपूर्ण छ।

नेपाललाई अब आर्थिक पुनर्जागरण आवश्यक छ। यस्तो पुनर्जागरण, जसले केवल तथ्यांकमा वृद्धि होइन, उत्पादन, रोजगारी, लगानी र आत्मविश्वासको नयाँ वातावरण निर्माण गरोस्। त्यसैले आगामी बजेट दुई मूल स्तम्भमा आधारित हुनुपर्छ- आर्थिक पुनर्जागरण र हरित अर्थतन्त्रको स्थापना।

आज विश्व अर्थतन्त्र तीव्र गतिमा डिजिटल, हरित र ऊर्जा केन्द्रित मोडलतर्फ अग्रसर छ। नेपालसँग पनि यस परिवर्तनको नेतृत्व गर्ने सम्भावना छ, विशेषगरी जलविद्युत् र सूचना प्रविधि क्षेत्रमा। तर, सम्भावना मात्र पर्याप्त हुँदैन। त्यसलाई नीतिगत साहस, प्रशासनिक सुधार र लगानीमैत्री वातावरणले साथ दिनुपर्छ।

नेपालको आर्थिक रुपान्तरणको सबभन्दा ठूलो आधार जलविद्युत् हुन सक्छ। आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य केवल घोषणामा सीमित रहनुहुँदैन। यसलाई व्यवहारमा उतार्न बजेटले ठोस संरचनात्मक सुधार ल्याउनुपर्छ।

विद्युत् व्यापारमा निजी क्षेत्रलाई खुला पहुँच दिने, ‘ओपन एक्सेस’ प्रणाली लागू गर्ने र प्रसारण लाइन उपयोगको स्पष्ट तथा सहज कानुनी व्यवस्था गर्ने समय अब आएको छ। नेपाल विद्युत् प्राधिकरणको पूर्ण एकाधिकारबाट बाहिर निस्केर बहु-क्रेता र बहु-बिक्रेता मोडलमा प्रवेश नगरी ऊर्जा बजार प्रतिस्पर्धी बन्न सक्दैन। विदेशी लगानीकर्ताले नेपालमा सम्भावना त देख्छन्, तर नीतिगत अस्थिरता र निर्णय प्रक्रियाको ढिलाइले उनीहरूलाई रोकिरहेको छ।

त्यसैगरी विद्युत् उत्पादनसँगै प्रसारण लाइन विस्तारलाई पनि राष्ट्रिय प्राथमिकतामा राख्नुपर्छ। विशेषगरी भारत र बंगलादेशसँगको अन्तरदेशीय प्रसारण पूर्वाधारमा पर्याप्त बजेट विनियोजन हुनुपर्छ। विद्युत् निर्यातको सपना केवल उत्पादनले पूरा हुँदैन। त्यसका लागि क्षेत्रीय कनेक्टिभिटी अनिवार्य हुन्छ।

रोकिएका विद्युत् खरिद सम्झौता (पीपीए)लाई आयोजनाको प्रकृतिअनुसार पुनः संरचना गर्न आवश्यक छ। विदेशी लगानीकर्ताले नेपालमा सम्भावना त देख्छन्, तर नीतिगत अस्थिरता र निर्णय प्रक्रियाको ढिलाइले उनीहरूलाई रोकिरहेको छ। त्यसैले ‘अटोमेटिक एप्रुभल’ प्रणाली लागू गरी लगानी प्रक्रियालाई छिटो, पारदर्शी र विश्वासिलो बनाउनुपर्छ।

अबको जलविद्युत् नीति ‘सब्सिडी’ बाँड्ने होइन, लगानी सुरक्षा दिने दिशामा केन्द्रित हुनुपर्छ। सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडलमा नयाँ सोच आवश्यक छ। समयमा आयोजना सम्पन्न गर्ने, स्थानीय रोजगारी सिर्जना गर्ने र ऊर्जा दक्षता बढाउने परियोजनालाई अतिरिक्त कर छुटसहित ‘ग्रिड बोनस’ दिने व्यवस्था गरिनुपर्छ। यसले केवल आयोजना निर्माणलाई गति दिने होइन, निजी क्षेत्रलाई परिणाममुखी प्रतिस्पर्धामा पनि लैजान्छ।

जलाशययुक्त आयोजना  नेपालको ऊर्जा सुरक्षाको अर्काे महत्वपूर्ण आधार हो। ड्याम टू पावरहाउस अबको ऊर्जा दशकको मेरुदण्ड बन्न सक्छ। यो अवधारणाले नेपाललाई ३० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। दूधकोसीजस्ता ठूला परियोजनाले हिउँदको ऊर्जा अभाव घटाउन सक्छन् । यस्ता आयोजनामा दीर्घकालीन लगानी सुनिश्चित गर्न सकिए नेपाल दक्षिण एसियाकै ऊर्जा केन्द्र बन्न सक्छ।

हरित अर्थतन्त्रको बहस अब केवल वातावरणीय मुद्दा होइन, आर्थिक अवसरको विषय बनिसकेको छ। जीवाश्म इन्धनमा निर्भरता घटाउन विद्युतीय सवारी, हरित उद्योग र स्वच्छ ऊर्जामा कर सहुलियत आवश्यक छ। हरित कर प्रणाली लागू गरी प्रदूषणकारी क्षेत्रबाट संकलित राजस्वलाई स्वच्छ ऊर्जा र प्रविधिमा लगानी गर्न सकिन्छ।निर्माण र मर्मतका लागि छुट्टै संयन्त्र बनाइए मात्र पूर्वाधार दीर्घकालीन र गुणस्तरीय बन्न सक्छ।

आर्थिक रुपान्तरण केवल आयोजना निर्माणले सम्भव हुँदैन। त्यसका लागि सुशासन र मानव संसाधनको गुणस्तरीय विकास पनि उत्तिकै आवश्यक छ। आगामी बजेटको पहिलो प्राथमिकता सुशासन र पूर्वाधारको प्रभावकारी व्यवस्थापन हुनुपर्छ। निर्माण र मर्मतका लागि छुट्टै संयन्त्र बनाइए मात्र पूर्वाधार दीर्घकालीन र गुणस्तरीय बन्न सक्छ।

दोस्रो प्राथमिकता मानव संसाधनको रुपान्तरण हुनुपर्छ। प्राविधिक शिक्षालाई प्रत्यक्ष रुपमा जलविद्युत् आयोजना, उद्योग र उत्पादन क्षेत्रसँग जोड्ने उपयुक्त मोडल विकास गर्न आवश्यक छ। यसले युवालाई सीप, रोजगारी र उत्पादनसँग जोड्नेछ।

तेस्रो प्राथमिकता ऊर्जा बैंकिङ मोडल हुनुपर्छ। स्थानीय बचत समूह, प्रदेश सरकार र सञ्चित कोषलाई ऊर्जा आयोजनामा साझेदार बनाउने वातावरण सिर्जना गरिनुपर्छ। यसले स्थानीय स्वामित्व बढाउने मात्र होइन, ऊर्जा क्षेत्रमा राष्ट्रिय पुँजी परिचालनको नयाँ ढोका पनि खोल्ने छ।

Sources capitalnepal